अमेरिकी स्थलहरूमा ड्रोन आक्रमण
काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी कूटनीतिक केन्द्रमा मंगलबार ड्रोन आक्रमण भएको छ । आक्रमणमा कुनै मानवीय क्षति नभए पनि घटनाले क्षेत्रीय तनाव थप चर्काएको छ ।
अमेरिकी सञ्चारमाध्यम वाशिङ्टनपोस्ट र रोयटर्सले उद्धृत गरेको आन्तरिक अमेरिकी सुरक्षा सूचनाअनुसार, ड्रोनले बगदादस्थित बगदाद कूटनीतिक सहयोग केन्द्रमा प्रहार गरेको थियो । यो केन्द्र बगदाद विमानस्थल नजिकै रहेको अमेरिकी कूटनीतिक कर्मचारीका लागि ठुलो लजिस्टिक केन्द्र हो। ड्रोनले केन्द्रको सुरक्षा गार्ड टावर नजिकै प्रहार गरेको बताइएको छ ।
रिपोर्टका अनुसार सो आक्रमणमा कुल ६ वटा ड्रोन प्रक्षेपण गरिएको थियो । तीमध्ये पाँच वटा ड्रोनलाई सुरक्षा प्रणालीले खसालिदिएको थियो भने एउटा ड्रोन केन्द्र परिसर नजिकै पुगेको थियो । अमेरिकी स्रोतहरूले उक्त आक्रमण इरान समर्थित इराकी मिलिसिया समूहहरूले गरेको हुन सक्ने आशङ्का गरेका छन्।
ती समूहहरू इस्लामिक रेसिस्टेन्स इन इरान आईआरआई नामक गठबन्धनअन्तर्गत सक्रिय छन् । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि यी समूहहरूले इराकमा अमेरिकी हितहरूलाई लक्षित गरी आक्रमण बढाएको बताइएको छ ।
यसैबिच उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको एरबिल वरपर पनि कम्तीमा तीन वटा ड्रोन अवरोध गरिएको स्थानीय स्रोतहरूले जनाएका छन्। ती ड्रोन शहर बाहिरै खसालिएको र कुनै क्षति वा हताहती नभएको जानकारी दिइएको छ । एरबिल विमानस्थल नजिकै अमेरिकी सैन्य अड्डा रहेकाले यो क्षेत्र पनि इरान तथा इरान समर्थित समूहहरूको सम्भावित निशाना बन्ने गरेको छ ।
