sevenstartv.com २७ फागुन २०८२, बुधवार

अहिले गगनको राजीनामा निकास होइन !

२६ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँग अहिले बजारमा अनेकथरि हल्ला चल्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा चुनावी लहर देखिएपछि नेपाली कांग्रेसदेखि नेकपा एमालेसम्म नेतृत्व परिवर्तनका हल्लाहरु चर्चामा छन् ।

यहि बीचमा सोमबार कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको भेटलाई लिएर थापाको राजीनामाको विषयलाई पनि चर्चामा ल्याइएको छ । ०७९ को निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेस जेनजी आन्दोलनपछि भएको मध्यावधि निर्वाचनमा दोस्रोमा खुम्चिनु त्यो पनि अपेक्षाकृत सिट नआएपछि नेतृत्वमाथि प्रश्नहरु उठ्न थालेका हुन् । पार्टी मात्रै होइन स्वयं सभापतिले पनि निर्वाचनमा पराजय व्यहोरेपछि अहिले उनको राजीनामाको विषयलाई सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चाको विषय बनाइएको छ ।

युवापुस्ताको भावनाअनुसार विशेष महाधिवेशनबाट नेतृत्वलाई विस्थापित गरी कांग्रेस २.० को भेरियन्ट लन्च गरेका थापा नेतृत्वमा आएको दुई महिना पनि भएको छैन । एकातिर भदौ २३, २४ को घटनाअघि पार्टी नेतृत्वले गर्दै आएका काम, सत्ता सहकार्यले निराश जनता र अर्कोतिर विशेष महाधिवेशनले पार्टीलाई नयाँ स्वरुपमा लैजाँदा तत्कालीन सत्तापक्षका नेताहरु रिसाउँदा केही समस्या भएको देखिन्छ । कांग्रेसको नयाँ भेरियन्टले युवाहरुको मनमा अब कांग्रेस सुध्रियो भन्ने सन्देश प्रवाह भएपनि पार्टी भित्रै सुध्रिएको कांग्रेस हेर्न नचाहनेहरुको अन्तरघातले पार्टी थला परेको हो ।

यो अवस्थामा थापाको राजीनामाले मात्रै यसलाई पूर्ति गर्न सकिँदेन । झट्ट हेर्दा यो परिस्थिति अस्वभाविक देखिन्छ । तर कांग्रेस भित्रको असन्तुष्टी, अन्तरघातको शिकार केही हदसम्म भएकै हो भन्ने प्रमाणहरुले नै बताउँछ । यस्तो अवस्थामा सभापतिले राजीनामा दिँदैमा सबै सहज हुने हो त ? होइन फेरि त्यही नेतृत्वकै लुछाचुँडी, भागबण्डाकै शिकार भएर पार्टी झन नाजुक अवस्थामा जान्छ । यहाँ अब गर्नुपर्ने मुख्य काम भनेकै संसदमा बलियो प्रतिपक्षी भएर जनताका मुद्दा उठाउने, सदनमा नभएका नेताहरु जनताको घरदैलोमा पुग्ने अनि हिजोका गल्तीहरुमा माफी माग्दै सच्चिएर अगाडि बढ्ने प्रण गर्नुपर्छ ।

पार्टीभित्रै पनि भाग नपाएको झोँकमा अन्तरघात गर्नेहरुको पहिचान गरी उनीहरुलाई कारबाहीको कटघरामा उभ्याउनुपर्छ । कांग्रेस भित्र अन्तरघातको रोग विवि कोइराला, गिरिजा बाबु, किसुनजीको समयदेखिकै निरन्तरता हो । यसलाई अब गगन थापाको नेतृत्वले निर्मुला पार्न सके आगामी निर्वाचनमा कांग्रेस लयमा आउँछ । थापाले राजीनामान दिने विषय उपसभापति विश्वप्रकाश शर्मासँग राखेपछि शर्माले तत्काल राजीनमा दिन नहुने सुझाव दिएका छन् ।

अहिले नैतिकतालाई देखाएर पार्टी झन संकटमा पर्ने चेतावनी दिँदै शर्माले पार्टीलाई अझ सुदृढीकण गर्न थापाको नेतृत्व अपरिहार्य रहेको बताएका हुन् । नेता चन्द्र भण्डारीले पनि राजीनामा भन्दा पनि पार्टी अब कसरी एकीकृत गरेर अगाडि बढाउन सकिन्छ थापाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्