रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिका र युक्रेनबीच जेनेभामा नयाँ चरणको वार्ता शुरु हुँदै
काठमाडौं । रुस र युक्रेनबीच चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि आज अमेरिका र युक्रेनबीच नयाँ चरणको वार्ता शुरु हुँदैछ ।जेनेभामा हुने वार्तामा युक्रेनका
प्रमुख वार्ताकार रुस्तम उमरोभ र अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ । वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जेनेभामा हुने द्विपक्षीय बैठकका एजेन्डा र मार्चमा हुने सम्भावित त्रिपक्षीय वार्ताको तयारीबारे छलफल भएको जानकारी दिए । युक्रेनी पक्षले दीर्घकालीन सुरक्षा प्रत्याभूति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान दोहो¥याएको छ । उता वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा नयाँ आक्रमणको लहर सुरु गरेको छ । कूटनीतिक पहल थप अघि बढिरहे पनि युद्धभूमिमा हिंसा रोकिने देखिएको छैन ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले यस कार्यकालको सुरुदेखि नै रुस युक्रेन युद्ध रोक्न पहल गरेपनि उपलब्धि प्राप्त भएको छैन । यो युद्धलाई दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व मानिन्छ । चार वर्ष अघि सुरु भएको युद्धमा लाखौँ मानिसको ज्यान गएको छ भने विशेष गरी पूर्वी र दक्षिणी युक्रेनका भूभागमा व्यापक विनाश भएको छ ।
