sevenstartv.com २० वैशाख २०८३, आइतवार

खुम्चियो चुनावी सामग्रीको व्यापार

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । चुनावी प्रचारप्रसारमा प्रविधिको बढ्दो प्रयोगसँगै भौतिक रूपमा प्रयोग हुने प्रचारप्रसार सामग्रीको माग घटेको छ । पार्टी र उम्मेदवारले डिजिटल प्लाटफर्मलाई चुनावी प्रचारप्रचारको प्रमुख माध्यम बनाउँदा छापेर प्रयोग हुने चिह्नअंकित झन्डा, पर्चा, पम्प्लेट, टिसर्ट, टोपी, ब्याचलगायतका सामग्रीको व्यापार खस्किएको छ ।

विगतका निर्वाचनहरूमा उम्मेदवार भोट माग्न जनताको घरदैलोमा पुग्दा ठुलो परिमाणमा पार्टी र चुनाव चिह्नअंकित झन्डा, पर्चा र पम्प्लेटजस्ता प्रचार सामग्री धेरै बोक्थे । तर, अहिले प्रचारप्रसारको त्यो शैली निकै साँघुरिएको छ  । दल र उम्मेदवारले सकेसम्म धेरै डिजिटल माध्यमलाई प्रमुख प्रचारप्रचारको माध्यम बनाएका छन् । उम्मेदवारहरू सीमित मात्रामा झन्डा, टिसर्ट, टोपी र ब्याचलगायतका प्रचार सामग्री बोकेर मतदाताकहाँ पुग्ने गरेका छन् । भौतिक प्रचारप्रसारका सामग्रीको माग ह्वात्तै घटेको छापाखाना, स्टेसनरी र आर्ट व्यवसायीहरू बताउँछन् ।

यसपटकको चुनावमा निकै कम संख्यामा भौतिक रूपमा प्रयोग हुने प्रचारप्रसार सामग्रीको माग भइरहेको छ ।  निर्वाचन आयोगको प्रचारप्रसारसम्बन्धी आचारसंहिताले पनि सकेसम्म थोरै भौतिक सामग्रीमा जोड दिएको छ । भौतिक रूपमा चुनाव चिह्न भएका सामग्रीहरू बोक्न निर्वाचन आयोगले रोक लगाएको छ । झन्डा र पर्चा–पम्प्लेटबाहेकका अन्य प्रचार सामग्री प्रयोगमा आयोगले रोक लगाएपछि टिसर्ट र टोपीजस्ता वस्तुको माग घटेको छ ।  

उम्मेदवारहरूले आफ्ना एजेन्डा छाप्ने र नमुना मतपत्र छाप्ने गरेका कारण त्यसको व्यापार भने केही बढेको व्यापारीको भनाइ छ ।  कतिपय पार्टीको चुनाव चिह्न भौतिक रूपमा बोकेर हिँडेका कारण त्यसको समेत व्यापार बढेको छ । अहिले घन्टीको माग पनि बढेको व्यापारी बताउँछन् । अहिले मतदाता र उम्मेदवारको भेट भौतिक रूपमा मात्रै होइन भर्चुअल रूपमा पनि हुन्छ । उम्मेदवारले भर्चुअल रूपमा पनि भोट माग्ने गरेका छन् ।

कतिपय उम्मेदवारले विदेशमा रहेका नेपालीलाई आफ्नो चुनावी माहोल सहज बनाइदिन भन्दै भर्चुअल माध्यमबाट सम्पर्क गर्ने गरेका छन् । अधिकांश उम्मेदवारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा प्रचार तीव्र पारेका छन् । अझ युवा उम्मेदवारले चुनावी प्रचारप्रसारमा डिजिटल माध्यमको भरपुर प्रयोग गरिरहेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्