मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि प्रशिक्षण सुरु हुने जनाएको हो ।
प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ र २ तथा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
‘तोकिएको मिति र समयमा सम्बन्धित सबै अधिकारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने जनाइएको छ ।
