अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हिमपहिरो, १० जना बेपत्ता
काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको पहाडी क्षेत्रमा आएको शक्तिशाली हिमपहिरोपछि १० जना स्कीयर अझै बेपत्ता रहेका छन् ।
उद्धार टोलीले तीव्र हिउँआँधी र पुनः हिमपहिरोको जोखिमका बीच खोज तथा उद्धार कार्य जारी राखेको छ। मंगलबार भएको उक्त दुर्घटनामा ६ जना स्कीयर जीवित अवस्थामा भेटिए पनि १० जना अझै बेपत्ता छन् । नेभाडा काउन्टी शेरिफ कार्यालयका अनुसार लेक टाहोको उत्तरपश्चिमस्थित क्यासल पिक क्षेत्रको फ्रग लेक आसपास हिमपहिरो गएको जनाइएको छ ।
त्यसपछि स्की, स्नोक्याट र स्नोमोबाइलसहितको उद्धार टोली तुरुन्तै परिचालन गरिएको थियो । तर तीव्र हिउँआँधी र पुनः हिमपहिरो जान सक्ने उच्च जोखिमका कारण उद्धार कार्य निकै कठिन बनेको थियो । उद्धार अधिकारीहरूले ६ जना स्कीयरसँग आपत्कालीन बेकनमार्फत सम्पर्क कायम गरेको बताएका छन् । उनीहरू अस्थायी आश्रय बनाउँदै उद्धारको प्रतीक्षामा रहेका छन् ।
थप हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोली सावधानीपूर्वक अघि बढिरहेको बताइएको छ । यसैबिच, क्यालिफोर्नियामा यस साता शक्तिशाली हिउँदे आँधीका कारण भारी हिमपात, तीव्र हावा र खराब मौसमले जनजीवन प्रभावित भएको छ ।
