आयोगले चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
काठमाडाैं । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ ।
पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ । भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक आउँदो फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ ।
एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको छ । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको जनाइएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।
