sevenstartv.com १ चैत २०८२, आइतवार

प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरू मतदाताको घरदैलो गर्न सक्रिय

२५ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साना र नयाँ राजनीतिक दलहरू मतदाताको घरदैलो गर्न सक्रिय देखिएका छन् । पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी तथा नयाँ दलका रूपमा चुनावमा सहभागी हुँदै गरेको उज्यालो नेपाल पार्टीदेखि श्रम संस्कृति पार्टीसम्मले आफ्ना उम्मेदवार रहेका निर्वाचन क्षेत्र र जिल्लामा चुनावी गतिविधि बढाउँदै गइरहेका छन् । 

पुराना दलले जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै उनीहरुले मतदातासँग संवाद बढाइरहेका छन् । साना र नयाँ दलहरूको यो सक्रियताले मतदाताको धारणा र चुनावी नतिजा कस्तो आउला भन्नेमा सबैको चासो बढेको छ । पहिलोपटक निर्वाचनमा होमिएको विप्लब नेतृत्वको नेकपा माओवादी, आम जनता पार्टी, राष्टिय परिवर्तन पार्टी, नेशनल रिपब्लिकन पार्टी, मितेरी पार्टी नेपाल, आम जनता पार्टीलगायतका दलले चुनावी गतिविधि गरिरहेका छन् । भाले चुनाव चिह्न लिएर प्रत्यासी बनेको मंगोल नेसनल अर्गनाइजेसनले २०७९ को निर्वाचनमा दाङमा समानुपातिकतर्फ २ हजारभन्दा कम मत ल्याएको थियो । यसपटक मतदाता आकर्षित गर्ने यो पार्टीको एजेन्डा छ । 

कञ्चनपुरमा पनि नयाँ दलहरूले जनमत आफ्नो पक्षमा पार्न मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । त्यसक्रममा उनीहरूले आफ्ना चुनावी प्रतिवद्धता र एजेन्डा पनि प्रस्तुत गरिरहेका छन् । अन्य साना दलका उम्मेदवारहरुले पनि कञ्चनपुरमा मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवार छन् । यस्तै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वलीलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका वली दश वर्षे सशस्त्र द्वन्द्वमा लामो समय प्रहरी हिरासतमा बसेका थिए । 

शान्ति प्रक्रियापछि पनि भूमिगत राजनीतिक गर्दै आएका वली उम्मेदवार बनेपछि मोटरसाइकल चढेर प्राय एक्लै गाउँगाउँ डुल्दै मतदातामाझ पुगेका छन् । वली मदतादासँग व्यस्त रहँदा उनको पार्टीले यसपटकको निर्वाचनमा रोल्पाली मतदाताले नयाँ व्यक्ति चुन्ने दाबी गरेको छ । रोल्पालाई आफ्नो आधार इलाका दाबी गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको यो पार्टीले रोल्पाका नागरिकको सडक, स्वास्थ्य, शिक्षालगायतका आधारभूत सेवासुविधासमेत नपाएको गुनासो सम्बोधन गर्ने बताएको छ । उता दलीय र स्वतन्त्र गरी १७ जना उम्मेदवार रहेको धनकुटामा जसपा नेपाल, श्रमसंस्कृति पार्टी, नेमकिपा, आमजनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टीलगायतका दलका पनि उम्मेदवार छन् । 

श्रमसंस्कृति, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायतले वडा र स्थानीय तहमा कमिटी गठन, घरदैलो, भेटघाट र सभालगायतका कार्यक्रम गरिरहेका छन् । उनीहरू पुराना र ठूला भनिएका दलले धनकुटाका नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् । दाङका ३ वटै निर्वाचन क्षेत्रमा दलीय ४४ र स्वतन्त्र १६ गरी ६० उम्मेदवारहरू मतदाताको घरदैलो धाइरहेका छन् । त्यहाँ उम्मेदवारी दिएका साना दलका उम्मेदवारहरू आफ्ना एजेन्डा जनतामाझ लैजाने र मत माग्ने काम गरिरहेका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपासँगै दाङमा अन्य १२ साना दलले उम्मेदवारी दिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्