इंग्ल्यान्डसँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुँदैछ।
नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो। यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन।
नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् ।
