सन् २०२६ को सुरुवातमै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढ्याे
काठमाडाैं । सन् २०२६ को सुरुवातमै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष १५ दशमलव ७ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
गत वर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएकामा यस वर्षको पहिलो महिनामै ९२ हजार ५७३ अन्तर्राष्ट्रिय आगन्तुकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो तथ्याङ्क कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा भन्डै १४ प्रतिशतले बढी रहेको छ । बोर्डका अनुसार यस वर्षको जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन् ।
त्यसपछि चीनबाट नौ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ र अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा सार्क मुलुकबाट ३९ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै एसियाली देशबाट २६ प्रतिशत, युरोपबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्याङ्कले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको सङ्केत भएको बताएको छ ।
पछिल्ला वर्षमा गरिएको गन्तव्य प्रवर्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुँदै गएकाले पर्यटक आगमन वृद्धि हुँदै गएको छ ।
