sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कहाँ-कहाँ भयो चुनावी गठबन्धन

१९ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दल र उम्मेदवारले चुनावी तालमेल गर्ने सहमति गरिरहेका छन् । गोरखा–१ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार छैनन् । गोरखामा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन प्रलोपाले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरूसँग संवाद गरिरहेको छ । गोरखा–२ मा प्रलोपाका संरक्षक डा.बाबुराम भट्टराई उम्मेदवार थिए । उम्मेदवारी फिर्ता लिनुअघि डा. भट्टराई माघ ९ गते चुनावी तालमेलको प्रस्ताव लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास पुगेका थिए । प्रचण्ड र डा. भट्टराईबीच के कुरा भयो बाहिर आएको छैन् ।

एमाले–प्रलोपा तालमेल

एमालेसँग प्रलोपाले चुनावी गठबन्धन गर्ने सहमति नै गरिसकेको छ । माघ ११ गते यी दुई दलबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी गठबन्धन गर्ने सहमति भएको थियो ।सहमति अनुसार रूकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रूकुम पूर्वमा प्रलोपाका सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ । प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्नेछ । रूकुम पश्चिममा प्रलोपाका शर्मा र अन्य पार्टीका गरी कुल १२ जना उम्मेदवार छन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट राजु केसी, नेकपाबाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही उम्मेदवार छन् । एमाले र प्रलोपाको सहमतिअनुसार रूकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ । यो क्षेत्रमा कांग्रेसबाट कुशुमदेवी थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,रास्वपाबाट लखनकुमार थापा उम्मेदवार छन् ।

नेकपा–जनमोर्चा तालमेल

बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीको तालमेल छ । जसअनुसार बागलुङ–१ मा जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार छन् । बागलुङ–१ मा कांग्रेसबाट भिमबहादुर श्रीस राना, एमालेबाट हिराबहादुर खत्री, रास्वपाबाट सुशील खड्का उम्मेदवार छन् । बागलुङ–२ मा नेकपाबाट गैरेसहित कांग्रेसबाट टेकराज पौडेल, एमालेबाट मन्जु शर्मा, रास्वपाबाट सोम शर्मा लगायत उम्मेदवार छन् ।

प्रलोपा र श्रम संस्कृति

प्रलोपाकै नेता सुदन किरातीले सुनसरी–१ मा धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन् । ध्रुवराज पनि श्रम संस्कृति पार्टीकै उम्मेदवार हुन् । सुनसरी–१ र एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रलोपाका उम्मेदवार छैनन् । समर्थन गरे वापत् श्रम संस्कृति पार्टीले किरातीको प्रलोपालाई कहाँ सघाउँछ ? भन्ने खुलेको छैन ।

एमाले–राप्रपा संवादमा ?

रूपन्देही–२ मा राप्रपाबाट कार्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन् । तर, पछि फिर्ता लिइन् । विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवार बन्न पाइने संवैधानिक प्रावधान अनुसार नाम फिर्ता लिएको बताइएको छ । यो क्षेत्रमा राप्रपाको मत लिने गरी अन्य दल र उम्मेदवारले तालमेलको प्रयास गरेका छन् । २०७९ को चुनावमा केही क्षेत्रमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए । यो क्षेत्रमा के गर्ने भनेर पार्टीले निर्णय लिन बाँकी रहेको जनाइएको छ । रूपन्देही–२ सहित अन्यत्र पनि तालमेलको प्रयास भइराखेको नेताहरू बताउँछन् । झापा–५ र झापा–३ मा एक अर्कालाई सघाउने विषयमा अनौपचारिक संवाद भए पनि औपचारिक निर्णय भइनसकेको नेताहरूले जानकारी दिएका छन् ।

मनाङमा अनौठो तालमेल

हिमाली जिल्ला मनाङमा जम्मा तीन जनाको उम्मेदवारी कायम छ । २१ फागुनको चुनावलाई नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले मात्र उम्मेदवार छन् । एमालेको मनाङमा उम्मेदवार छैन । राप्रपा पनि मनाङमा उम्मेदवार विहिन छ । १६५ स्थानमै उम्मेदवार उठाउने लक्ष्य लिएको रास्वपाले मनाङमा अनिल गुरुङलाई टिकट दिएको थियो । अनिल मनोनयनका लागि निर्धारित समयमा नपुगेपछि त्यहाँ रास्वपा पनि उम्मेदवारविहीन भयो । एमाले, रास्वपा, राप्रपा लगायतलाई कांग्रेस र नेकपाले तालमेलका लागि आग्रह गरिरहेको छन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्