sevenstartv.com २ चैत २०८२, सोमवार

इरानमा ग्यास पड्किँदा पाँच जनाको मृत्यु

१८ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  इरानका दुई फरक–फरक सहरमा ग्यास चुहावटका कारण भएका विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएको स्थानीय अधिकारी र सरकारी सञ्चारमाध्यमले बताएका छन् ।

पहिलो घटना दक्षिणी बन्दर अब्बास सहरमा भएको थियो । यहाँ आठतले आवासीय भवनमा शक्तिशाली विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने अरु १४ जना घाइते भए । मेहर समाचार एजेन्सीका अनुसार मोअल्लेम बुलेभार्ड क्षेत्रमा रहेको भवनका दुई तला पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका पसल र सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ ।

प्रारम्भिक अनुसन्धानमा ग्यास चुहावट र त्यसको सञ्चय नै विस्फोटको कारण देखिएको बताइएको छ । घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालमा भर्ना गरिएको छ । सामाजिक सञ्जालमा सैन्य अधिकारी लक्षित गरेर विस्फोट गराइएको भएको दाबीलाई आधिकारिक रूपमा खण्डन गरिएको छ ।

दोस्रो विस्फोट दक्षिण–पश्चिमी सहर आह्वाजको कियानशहर क्षेत्रमा भएको थियो, जहाँ चार जनाको मृत्यु भएको तेहरान टाइम्सले जनाएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेको एक बालकलाई जीवितै निकालेर उपचारका लागि अस्पताल पठाएका छन् ।

यी घटनाहरू खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेको र इरानको आणविक कार्यक्रममा दबाब बढिरहेका बेला भएका हुन् । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग वार्ता गरिरहेको बताएका थिए । तर उनले यसबारे विस्तृत जानकारी दिएनन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्