sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरू

१३ माघ २०८२, मङ्गलवार स्टार संवाददाता
काठमाडाैं ।  बागलुङ ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरू भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले सोमबार बांगेचौर खेल मैदानमा आयोजित उक्त कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि, अनुशासन, सहकार्यको भावना विकास र सामाजिक सञ्जालको दुष्प्रभावबाट बालबालिकालाई जोगाउन खेलकुदमा घुलमिल गराउनुपर्ने बताए।
 
कार्यक्रमलाई गाउँगाउँका विद्यार्थीको बीचमा पुर्याउनका लागि जिल्ला फुटबल संगले थप मेहनत गर्नुपर्ने उनको भनाइ छ । एन्फा, शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालयको सहकार्यमा देशका ७७ वटै जिल्लामा शुभारम्भ भएको कार्यक्रम अन्तर्गत बागलुङमा पहिलो चरणमा विद्यालयमा फुटबल वितरण गरिएको छ ।
 
कार्यक्रमको उद्देश्य विद्यालयमा फुटबल सामग्री वितरण, प्रशिक्षक तालिम र जीवनोपयोगी सीप सिकाउने भएपनि पहिलो चरणमा बागलुङका ६ वटा विद्यालयमा फुटबल वितरण गरिएको हो । विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमलाई विस्तार गरेर क्याम्पसस्तरमा पुर्याइने उपाध्यक्ष लामाले बताए ।
 
देशका १ हजार ७२ वटा विद्यालयमा लागु भएको कार्यक्रममा बागलुङका ६ र गण्डकी प्रदेशका १ सय ४२ सामुदायिक र संस्थागत विद्यालय समावेश छन् । कार्यक्रमा सहभागी हुनका लागि १ हजार ४ सय विद्यालयले फारम भरेको भएपनि मापदण्ड पुगेका विद्यालय मात्र कार्यक्रमका लागि छनौट भएका थिए ।
 
विद्यालय तहका ८ देखि १२ वर्षसम्मका बालबालिका लागि छनौट भएका प्रत्येक विद्यालयलाई १५ वटाका दरले फुटबल हस्तान्तरण गरिएको छ । कार्यक्रमका लागि छनौट भएका बागलुङका रुद्रेपिपल माध्यामिक विद्यालय, आदर्श विद्यामन्दिर, फ्युचर ब्राइटर, गुँरास विद्या सदन, चिल्ड्रेनलाइफ र अमर आदर्श गरि ६ वटा विद्यालयले फुटबल प्राप्त गरेका हुन् ।
 
कार्यक्रममा गुँरास विद्या सदन बागलुङका प्रिन्सिपल निशान खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष राहुल बोहराको स्वागत तथा महासचिव रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्