sevenstartv.com १२ माघ २०८२, सोमवार

बङ्गलादेशको टेक्सटाइल कपडा उद्योग सङ्कटमा, बन्द गर्ने चेतावनी, १० लाखको जागिर गुम्ने खतरा

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन् । 

सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने सस्तो धागोले स्वदेशी बजार भरिएकोले स्थानीय उद्योगहरूलाई ठूलो नोक्सानी भइरहेको दाबी गरेका छन् । समान प्रतिस्पर्धाको वातावरण समाप्त भएको र मिलहरू बन्द भएमा १० लाख मजदुरको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन् । 

यसले देशमा सामाजिक तनाव समेत बढाउन सक्ने आशङ्का गरिएको छ । यति हुँदाहुँदै पनि सरकारले अहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा कुनै राहतको घोषणा गरेको छैन । हालसम्म ५० भन्दा बढी टेक्सटाइल मिलहरू बन्द भइसकेका छन् भने हजारौँ मजदुरले रोजगारी गुमाएका छन् । धेरै उद्योगीहरूलाई बैंकको ऋण तिर्न समेत मुस्किल परिरहेको छ । 

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा बङ्गलादेशले करिब २ हजार करोड डलर बराबरको ७० करोड किलोग्राम धागो आयात गरेको थियो, जसमा ७८ प्रतिशत हिस्सा भारतको रहेको छ। स्पिनिङ मिल मालिकहरूले १० देखि ३० काउन्टका सुती धागोको भन्साररहित आयात बन्द गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्