प्रचण्डलाई झलनाथको चेतावनी, गजुरेललगायतका नेताको कारवाही फिर्ता नभए विद्रोह गर्ने तर्क
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन् । कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको भन्दै उनले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिए ।
उनले वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरूको संस्थागतरूपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाए । पूर्वप्रधानमन्त्री खनालले सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने कारबाही फिर्ता लिएर हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन माग गरे । उनले सामूहिक निर्णय प्रक्रिया अगाडि नबढाए एकीकरण भई नसक्दै विश्रृंखलातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने टिप्पणी गरेका छन् ।
