sevenstartv.com १२ माघ २०८२, सोमवार

नेपालले आज स्कटल्यान्डसँग खेल्दै

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान नौ बजे सुरू हुनेछ । 

सुपर सिक्स चरणमा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवस्यक छ। यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन । समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ । यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्‍यो र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हरायो भने नेपालको सुपर सिक्स सम्भावना केही बलियो हुनेछ। तर यस अवस्थामा पनि राम्रो नेट रन रेट अपरिहार्य हुनेछ ।

यता नेपालले स्कटल्यान्डमाथि विजय हासिल गर्दा थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएमा नेपाल र स्कटल्यान्ड दुवैको समान ४ अंक हुनेछ । त्यस परिस्थितिमा पनि छनोटको टुंगो नेट रन रेटकै आधारमा लाग्नेछ । हाल स्कटल्यान्डको रन रेट नेपालभन्दा बलियो रहेकाले नेपाली टोलीलाई ठूलो अन्तरको जित आवश्यक पर्नेछ। 
तर नेपाल स्कटल्यान्डसँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्स यसअघि नै सुपर सिक्समा पुगिसकेको टोली हो ।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग लगातार दुई खेलमा पराजित भएको नेपालले जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो । समूह बीको दोस्रो स्थानमा रहेको स्कटिस टोलीले नेदरल्यान्ड्संग हार बेहोर्दा प्रतियोगिताको सुरुवात गरे पनि त्यसपछि जिम्बाब्वे र थाइल्यान्डलाई पराजित गरेको थियो। आईसीसी महिला टी-२० अन्तर्राष्ट्रिय वरियतामा स्कटल्यान्ड ११औं स्थानमा रहँदा नेपाल २१औं स्थानमा छ । प्रतियोगिताअघि सम्पन्न अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्