वैदेशिक रोजगारीका लागि ११० मुलुक खुला
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि ११० मुलुकमा मान्यता प्रदान गरेको छ । आकर्षक तलब र सुरक्षित कार्यस्थलको खोजी गर्दै नेपाली युवा १५१ मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार सरकारले मान्यता दिएका ११० मध्ये ९९ मुलुकमा मात्रै नेपाली गएका छन् । श्रम गर्न नेपाली पुगेका अन्य ५२ मुलुक सरकारले मान्यता दिएको छैन् ।
०८२/८३ को मंसिरमा मात्रै १०८ देशमा युवा श्रमको खोजीमा पुगेका छन् । सरकारले श्रमका लागि ११० मुलुक जान खुला गरे पनि श्रम सम्झौता भने १२ देशसँग मात्रै गरेको छ । श्रम मन्त्रालयका अनुसार कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस, युएई, इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता भएको छ । रोजगारीका लागि धेरै युवा जाने खाडी मुलुकमध्ये कुवेतसँग पनि श्रम सम्झौता हुन सकेको छैन । ०८१/८२ मा कुवेतमा ५९ हजार ६५ युवा रोजगारीका लागि पुगेको तथ्यांक छ ।
श्रम सम्झौता भएमध्ये सबैभन्दा धेरै युएईको रोजगारीमा आकर्षण छ । ०८१÷८२ मा आठ लाख ३९ हजार युवा वैदेशिक रोजगारीका लागि जाँदा युएईमा मात्रै दुई लाख ७४ हजार ५९० जना गएको विभागले जनाएको छ । त्यस्तै, कतारमा एक लाख ४० हजार ७९२, कोरिया १४ हजार २२४, बहराइन ११ हजार ६२४, जोर्डन दुई हजार ५२, मलेसिया ४९ हजार १८७ र जापान २३ हजार ७१ जना पुगेको विभागले जनाएको छ । सोही वर्ष मौरिससमा पाँच हजार ७४०, इजरायलमा १३ सय ४२, बेलायतमा एक हजार २८९, रोमानियामा २७ हजार ८७४ र जर्मनीमा २२८ नेपाली वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।
कात्तिक र मंसिरमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै युवा साउदी गएको तथ्यांक छ । विभागका अनुसार कात्तिकमा १५ हजार ७६९ र मंसिरमा १४ हजार ३३९ युवा साउदी गएका थिए । युवाले रोज्ने १० देशभित्रको सूचीमा ओमान पर्दै आएको छ । गत आवमा कुल आठ हजार ६०१ जना ओमान पुगेको तथ्यांक छ । ०८२÷८३ को मंसिर मसान्तसम्म रेमिट्यान्स आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको थियो । मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १८ करोडको रेमिट्यान्स भित्रिएको छ ।
०८१÷८२ मा कुल १७ खर्ब २३ अर्ब रेमिट्यान्स भित्रिएको छ । बढ्दो रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा पनि निरन्तर योगदान पुगिरहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २२ अर्ब १३ करोड डलर छ । सरकारले वैदेशिक रोजगारीका लागि खुला गरे पनि जोखिमको सूचीमा राखेका इराक र लिबियामा समेत युवा पुगेका छन् । सुडान, कंगो, सोमालियालगायत देशमा समेत जोखिम मोलेर नेपाली युवा रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ ।
