भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु
काठमाडौं । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ । जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।
सञ्चार माध्यमका अनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन करिब २०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनापछि सेना र प्रहरीले संयुक्त उद्धार अभियान सुरु गरी शव निकाल्ने र घाइतेहरूको उपचार गर्ने काम गरिरहेको छ ।
भारतमा क्षमताभन्दा बढी भार, सडकको खराब अवस्था र लापरवाहीपूर्ण सवारी चालनका कारण यस्ता घातक सडक दुर्घटनाहरू सामान्य हुने गरेका गरेको छ । भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले २०२४ डिसेम्बरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब १ लाख ७८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन ।
गत वर्ष मात्र देशभर ४ लाख ८० हजारभन्दा बढी सडक दुर्घटनाहरू दर्ता भएका थिए ।
