‘बंगलादेशले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन आग्रह गर्न सक्छ’
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका निम्ति आग्रह गर्न सकिने बंगलादेशका अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका वेला पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्नसक्ने बताएका हुन् । यसले भारत सरकारलाई अप्ठ्यारोमा पार्नसक्ने उनले बताएका छन् ।
बङ्गलादेशमा सरकार र विषेशगरी आफूलक्षित आन्दोलन चर्किएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन् । त्यसपछि बंगलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका थिए ।
विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो ।
ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लंघनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् ।
