कसले मार्ला बाजी ?
काठमाडाैं । नेपालको राजनीतिक प्रणालीमा संसदीय निर्वाचनले भावी प्रधानमन्त्रीको तय गर्ने छ । यो चुनावमा दलहरुले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तोकेर जाने अभ्यास सुरु गरेका छन् । निर्वाचनपछि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउने आशामा यो रणनीति दलहरुले अपनाएका छन् ।
लोकप्रिय’ व्यक्तिको अनुहारलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मतदातालाई आकर्षित गर्ने अभ्यासमा राजनीतीक दलहरु जुटेका छन् । हालसम्म दुईवटा दलले घोषित र दुई दलले अघोषितरुपमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका छन् । अघिल्लो चुनावमा चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
उनलाई चुनावपछि प्रधानमन्त्री बनाउने सम्झौता गरेर नै रास्वपा भित्र्याइएको हो । तर, यसका लागि चुनावमा रास्वपाको बहुमत आउनुपर्छ । बालेनले प्रतिनिधिसभा चुनावमा झापा ५ बाट उम्मेदवारी दिँदैछन् जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली पनि भावी प्रधानमन्त्रीका आकांक्षी नै हुन् । एमालेले कुनै औपचारिक निर्णय नगरे पनि भोलि पार्टीले सरकारको नेतृत्व गर्ने स्थिति आयो भने ओलीको विकल्प नरहेको नेताहरु बताउने गर्छन् । ओलीले पनि विभिन्न भाषणमा एमालेले बहुमत ल्याएर सरकार बनाउने बताउँदै आएका छन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको कुर्सीबाट लखेटिएका उनी जनमतको बलमा फेरि उक्त कुर्सीमा फर्किन लालायीत रहेका छन । रास्वपालाई काउन्टर दिन एमालेले चुनावमा कांग्रेससँग साँठगाँठ गर्ने सोच बनाएको थियो । ओली र कांग्रेस सभापति देउवाले आन्तरिक समझदारी गरिसकेका थिए । चुनावपछि मिलेर सरकार बनाउनेसम्मको योजना थियो । तर, अहिले कांग्रेस विभाजनले उक्त योजना भताभूंग बनेको छ । देउवाले कांग्रेसको आधिकारिकता नै गुमाएका छन् । आधिकारिकता पाएका गगन थापा चुनावमा कसैसँग गठवन्धन नगर्ने पक्षमा छन् ।
गगन थापा पनि भावि प्रधानमन्त्रीका आकांक्षी हुन् । उनले कांग्रेसमा तत्काल नेतृत्व परिवर्तन चाहनुको एउटा कारण पार्टीको तर्फबाट भावि प्रधानमन्त्रीमा प्रस्तावित हुने पनि थियो । पार्टी एकताका लागि अन्तिम प्रयास भइरहँदा गगन पक्षले अघि सारेको ८ बुँदे प्रस्तावमा एक बुँदा ‘भावि प्रधानमन्त्री तोकेर जानुपर्ने’ पनि छ । त्यसमा गगनको नाम लेखिएको थिएन । आशय भने गगनलाई भावि प्रधानमन्त्रीमा अघि सार्नुपर्छ भन्ने नै थियो । पार्टीको आधिकारिकता पाइसकेपछि कांग्रेसले गगनलाई भावि प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने सम्भावना छ ।
तर, पार्टी विभाजनको अवस्थामा चुनावमा जाँदा कांग्रेसले कति सिट ल्याउँछ भन्नेमा सबैको चासोको विषय बनेको छ । अरु कसैले चर्चा नगरेका तर आफूले आफैंलाई भावि प्रधानमन्त्री घोषणा गरेका पात्र हुन् हर्क साम्पाङ । उनी चुनावपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गर्दै हिँडेका छन् । उनले श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा होमिएका हुन् । जेनजी आन्दोलन लगत्तै साम्पाङ प्रधानमन्त्री बन्ने भनेर काठमाडौं आएका थिए । तर सफल भएनन् ।
अब चुनाव जितेरै प्रधानमन्त्री बन्ने यनको धारणा छ । साम्पाङको पार्टीले पूर्वतिर जनजाति समूदायमा राम्रै लहर सिर्जना गरेको छ । तर, उनले भावि प्रधानमन्त्रीमा गरेको दावेदारीलाई कसैले पनि गम्भीररुपमा लिएको छैन ।
