हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।
देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।
‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ । देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले वैशाखमा स्वत अलग हुन्छु अहिले किन म निष्क्रिय हुने भन्ने जवाफ दिएको थापाले बताए ।
