कांग्रेस विशेष महाधिवेशन : निर्वाचन प्रक्रिया अगाडि बढाइने तयारीमा कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ । विवाद समाधान गर्न बसेको पहिलो चरणको बैठक सकिए लगत्तै निर्वाचन प्रक्रियालाई अगाडि बढाउन लागिएको सचिवालयले जनाएको छ ।
सहमति जुटाउनको लागि दुवै पक्षबाट अधिकतम लचकता अपनाए पनि निष्कर्षमा पुग्न नसकेको एक नेताले बताएका छन । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए ।
संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका थिए । वार्तामा विशेष पक्षधरले अस्वाभाविक माग राख्दा निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले जनाएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो । दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
