पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफलमा रहेको डा. शेखर कोइरालाको भनाई
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको बताएका छन् ।
आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनलेपार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी गरेका हुन् ।
‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिरहेको छु,’ उनले भने, ‘तपाईँहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईँहरू पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन ।’
कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको दाबी गरे । छलफलमा कानुन व्यवसायीहरूले नेपाली काँग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताएको उनको सचिवालयले बताएको छ ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब। केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू(शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए ।
