sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कांग्रेसका यस्ता छन् राष्ट्रिय महत्त्वको आयोजनाबारे ६ प्रस्ताव

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई द्रुत स्तरमा अघि बढाउन ६ बुँदे प्रस्ताव गरेको छ । निर्माण सुरु भएका आयोजना विभिन्न कारणले समयमा नबन्ने समस्या समाधान गर्न दोस्रो विशेष महाधिवेशनमा यस्तो प्रस्ताव प्रस्तुत गरिएको हो । 

महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावमा इभिडेन्स बेस्ड बजेटिङदेखि बजेटमा राष्ट्रिय सहमतिको सूचीका आयोजना बनाउनेसम्म उल्लेख गरिएको छ । यस्ता आयोजनालाई संविधान र कानुनमै प्राथमिक क्षेत्र घोषणा गर्ने र यस्ता परियोजनामा बजेट कटौती गर्न नपाइने व्यवस्था गरिने समेत उल्लेख गरिएको छ । 

यस्ता छन् प्रस्तावहरू

१. राष्ट्रिय प्राथमिकता स्पष्ट गर्ने कानुनी व्यवस्था- ऊर्जा, कृषि, रोजगारी र औद्योगिकीकरण जस्ता क्षेत्रलाई संविधान र कानुनमै प्राथमिक क्षेत्र घोषणा गर्ने र यस्ता परियोजनामा बजेट कटौती गर्न नपाइने व्यवस्था ।

२. इभिडेन्स बेस्ड बजेटिङ अनिवार्य गर्ने-प्रत्येक ठुला परियोजनाका लागि लागत–लाभ विश्लेषण, दीर्घकालीन आर्थिक प्रभाव, सञ्चालन सम्भाव्यता, अनिवार्य गर्ने ।

३. ‘शोकेस परियोजना’ नियन्त्रण गर्ने-राजनीतिक प्रतिष्ठा बढाउने तर राष्ट्रलाई बोझ पार्ने परियोजनालाई संसद् र राष्ट्रिय योजना आयोगको संयुक्त स्वीकृति बिना अघि बढाउन नदिने ।

४. प्रयोगविहीन पूर्वाधारको पुनरावलोकन-प्रयोगमा नआएका विमानस्थल, भवन र संरचनाको वैकल्पिक उपयोग । निजी–सार्वजनिक सामुदायिक साझेदारी (पीपीसीपी) मार्फत पुनः उपयोग गर्ने प्रणालीको विकास गर्ने ।

५. संसद् र नागरिक निगरानी सुदृढ गर्ने -बजेट विनियोजनमा संसदीय विषयगत समितिको वास्तविक भूमिकालाई प्रभावकारी बनाउने र नागरिक समाज र सञ्चार माध्यमको पहुँच सुनिश्चित गर्ने ।

६. दीर्घकालीन राष्ट्रिय परियोजनालाई दलगत सहमति- बुढीगण्डकी जस्ता परियोजनालाई ‘सरकार बदलिँदा नबदलिने परियोजना’ को रूपमा राष्ट्रिय सहमतिको सूचीमा राख्ने ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्