रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता कसरी भाँडियो ?
१२ दिनमै टुट्यो रास्वपासँग कुलमानको सहकार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता प्रयास असफल भएको छ। रास्वपाका स्रोतका अनुसार कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले वरिष्ठ उपसभापतिसहित पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव राखेपछि एकता भंग भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहमतिपछि वरीयतामा उपसभापति रहेका कुलमान घिसिङ १२ दिनमै बाहिरिएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता सहमति १२ दिनमै भाँडिएको हो । पद बाँडफाँट, सिद्धान्त र पार्टीको नाम परिवर्तनलगायतका विषयमा कुरा नमिलेपछि दुई पार्टीबीचको एकता अन्त्य भएको हो ।
एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । रास्वपा सचिवालय बैठकले पनि एकता अनुमोदन नगर्ने निर्णय गरेको छ । रास्वपामा सम्मानजनक सहभागिता नभइ उज्यालो नेपाललाई विलय गर्न लागिएको कुलमानपक्षको दाबी रहँदा रास्वपाले उज्यालोले पुरा गर्न नसकिने माग राखेको भन्दै एकता रोकिएको दाबी गरेको छ ।
रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्नेजस्ता विषयमा घिसिङले राखेको प्रस्ताव एकतामा बाधक बनेको जनाएको छ। यसैगरी प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैं चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका निश्चित पदहरु अहिले नै टुंग्याउनुपर्नेजस्ता माग पनि घिसिङले थपेपछि सहमति हुन नसकेको हो ।
तर यसअघि भएको सहमतिसमेत रास्वपाले कार्यान्वयन गर्न नखोजेको र किनारामा पुर्याउन खोजिएको कुलमान पक्षको भनाइ छ । खासगरी कुलमानपक्षले रास्वपासंग अरु मुख्य ३ विषयमा स्पष्टता खोजेको थियो । रास्वपामा आफ्नो अस्तित्वका लागि पहिचान,धर्म निरपेक्षता र संघीयता । कुलमान पक्षले संविधानमा अहिले भएको व्यवस्था अनुसार समानुपातिक समावेशीता नै हुनुपर्ने र पहिचानवादी आन्दोलनलाई संस्थागत गरिनुपर्ने अडान राखेको थियो । यी सबै विषयमा लिखित सम्झौतापछि मात्रै एकताको अर्थ हुने र आफ्नो पार्टीको सहअस्तित्व स्वीकार हुने भन्दै आएको कुलमान पक्षका माग सम्बोधन नहुने भएपछि एकता भाँडिएको हो ।
यता, रास्वपाले पछिल्लो समय सुसंस्कृत, परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूबीच व्यापक सहकार्यमार्फत देशमा नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न दल, समूह तथा व्यक्तिसँग संवाद गर्दै आएको जनाएको छ । यही प्रक्रियामा उनेपासँग सहमति भए पनि त्यसपछि मूल सहमतिको परिमार्जन तथा थप पूरक सहमतिका प्रस्तावहरू निरन्तर आएको र शीर्ष तहमा पटक–पटक छलफल भए पनि सहमति कायम हुन नसकेको जनाएको छ । साथै १२ दिनको सहकार्यको यात्रा अनुमोदन नभए पनि उनेपाको नेतृत्व तथा सम्पूर्ण संगठनको आगामी राजनीतिक यात्राका लागि सफलताको
