संस्थापन पक्षको असहमतिकाबीच कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र
काठमाडौं । वैशाखमा नियमित महाधिवेशन कि पुस २७–२८ मा विशेष महाधिवेशन भन्ने विषय कांग्रेसको आन्तरिक शक्ति परीक्षणतर्फ प्रवेश गरेको छ । संस्थापन पक्ष र महामन्त्रीद्वयबिचका आ–आफ्ना तयारी, अडान र पार्टीभित्र प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले कांग्रेसभित्रको शक्ति परीक्षण चुनावपूर्व सहमतिसहित एकीकृत पार्टीमै टुंगिने हो कि विभाजनतर्फ धकेलिने हो भन्नेमा अनिश्चितता बढाएको छ ।
नियमित वा विशेष महाधिवेशनको मुद्दाले पार्टीको तल्लो तहसम्म कठोर गुटबन्दी सुरु गरिसके पनि दुवै पक्षको औपचारिक भनाइ भने एउटै छ, ‘पार्टी विभाजन हुँदैन ।’ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदै छ । पक्षधरहरूले महाधिवेशनको भौतिक र राजनीतिक तयारी अन्तिम चरणमा पु¥याइसकेका छन् ।
विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू जिल्ला–जिल्लाबाट काठमाडौं आउने क्रम सुरु भएको छ । कुल चार हजार ७२३ जना महाधिवेशन प्रतिनिधिमध्ये २६ सयभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनमा सहभागी हुने जानकारी दिएको पक्षधर नेताको दाबी छ । विशेष महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू भैरहेको छ । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
आइतबार दिउँसो १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुनुअघि सुन्धारा, रत्नपार्क, र कुपण्डोलबाट जुलुस प्रदर्शन गर्न लागिएको छ । विशेष महाधिवेशनको पक्षमा बहुमत पुग्न नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरे पनि ५० प्रतिशत बढीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कतिपय जिल्लाका ९५ प्रतिशतभन्दा पनि धेरै प्रतिनिधिले हस्ताक्षर गरेको विशेष महाधिवेशन पक्षले दाबी गरेको छ ।
यसैबीच कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लाका कांग्रेसका सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् । यस्तै नेपाली कांग्रेस मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका सभापतिहरुले पनि पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर विधानअनुसार महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन् ।
