sevenstartv.com ९ माघ २०८२, शुक्रवार

विशेष महाधिवेशनको तयारी स्थल भृकुटीमण्डपमा कांग्रेसका नेताहरू

२५ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहित प्रभावशाली नेताहरू डा. चन्द्र भण्डारी, डा( सुनील शर्मा एकसाथ महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन् ।

संस्थापन पक्षको असहमतिकाबिच पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशनको तयारीको अवलोकन गर्न शुक्रबार यी तीनै जना नेताहरू भृकुटीमण्डप पुगेका हुन् । विशेष महाधिवेशनको तयारी भइरहेको स्थलमा पुगेर महामन्त्री शर्माले पार्टीको विधानबमोजिम प्रक्रिया पूरा भएपछि विशेष महाधिवेशनले वैधानिकता पाउने धारणा राखे ।

उनले आफू कुनै गुट वा संस्थापनरइतर भन्नुभन्दा पनि पार्टीको महामन्त्रीको हैसियतले विधि र विधानको पालना भए–नभएको हेर्न आएको स्पष्ट पारे । शर्माले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण हुने र सोही अनुसार महाधिवेशनले गर्नुपर्ने आवश्यक विषयहरूमा प्रवेश गर्ने बताए ।

उनले पार्टीका सबै नेताहरूप्रति आफ्नो श्रद्धा रहेको भन्दै कसैलाई होच्याउने वा अनादर गर्ने पक्षमा आफू नरहेको तर विधानको व्यवस्था अनुसार काम हुनुपर्नेमा जोड दिए । पुस २७ गते नै विशेष महाधिवेशन तोकिएको सन्दर्भमा उनले लोकतन्त्रमा एउटै मितिमा धेरै गतिविधि हुन सक्ने भन्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले आयोजक साथीहरूले उठाएको ‘विनम्र तर बुलन्द’ भन्ने नाराको प्रशंसा गर्दै प्राविधिक र राजनीतिक दुवै पक्ष मिलेर जानुपर्ने सुझाव दिएका छन् ।

पार्टीलाई एकताबद्ध बनाउन र विधिमा चलाउन आफूहरू निरन्तर लागिरहेको भन्दै उनले विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले यो भेलालाई पार्टी मिलाउने अभियानका रूपमा बुझ्न आग्रह गर्दै ७७ वटै जिल्लाका साथीहरूको भावनाको कदर हुनुपर्ने बताए । यसैगरी  डा. सुनील शर्माले भने संस्थापन पक्षले पेलेर जाने नीति लिएका कारण विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता आइपरेको बताए । 

उनले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको दाबी गरे । सुरुमा २३–२४ जिल्लाबाट हस्ताक्षर आएकोमा पछिल्लो समय २५० भन्दा बढी साथीहरू थपिएको र यो संख्या अझै बढ्ने उनको भनाइ थियो । उनले पार्टीमा टिकट वितरणमा अन्याय भएको र ४० प्रतिशतको मागलाई बेवास्ता गरिएको गुनासो गरे । विधानअनुसार विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि साथीहरू स्वतःस्फूर्त रूपमा यो अभियानमा होमिएको उनले स्पष्ट पारे ।

भृकुटीमण्डपमा मञ्च र टेन्ट निर्माणको काम धमाधम भइरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्