sevenstartv.com ९ माघ २०८२, शुक्रवार

आईसीसी महिला टी-२० विश्वकपको छनोट अभ्यास खेलमा नेपाली टोलीको लगातार दोस्रो हार

२५ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलिएको आफ्नो दोस्रो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । 

नेपाली टोली पहिलो अभ्यास खेलमा अमेरिकासँग आठ विकेटले पराजित भएको थियो । शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रनमात्र बनाउन सक्यो । 

विशाल लक्ष्य पछ्याएको नेपाली टोलीका लागि ओपनर सम्झना खड्काले अर्धशतकीय पाली खेलिन् । उनले अविजित ५२ रन बनाइन् । यसक्रममा उनले ४३ बलको सामना गरी सात चौका हिर्काइन् । इन्दु बर्मा २८ रन बनाउँदै आउट भइन् । उनले १९ बलमा दुई छक्का र दुई चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा एक छक्का र तीन चौकाको मद्दतले २२ रन बनाइन् ।

ओपनर बिन्दू रावल पाँच रन बनाउँदै पेभेलियन फर्किइन् । कविता कुँवरले अविजित २९ रन बटुलिन् । यस्तै, स्कटल्यान्डकी बलर डार्सी कार्टरले तीन विकेट लिइन् । प्रियान्ज चटर्जीले पनि टोलीको खातामा ४० रन थपिन् । ओपनर डार्सी कार्टर र पिप्पा स्प्रोलले २१÷२१ रन बनाए । नेपाली टोलीका बलर कविता कुँवर र रुविना क्षेत्रीले दुई÷दुई विकेट लिए । नेपालले अब तेस्रो अभ्यास खेल आइतबार जिम्बाब्वेसँग खेल्नेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्