खेलकुदमन्त्री गुप्तालाई कुनैपनि कार्यक्रममा आमन्त्रण नगरेको एनआरएनए एनसीसी यूएसएको प्रष्टोक्ति
काठमाडौं । अमेरिकास्थित गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको छ ।
एनआरएनए एनसीसी यूएसएले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको हो । एनआरएन एनसीसी यूएसएले आफ्नो जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति र समूहले संस्थाको नाम, ईआईएन तथा बेवसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
एनआरएनए एनसीसी यूएसएले खेलकुदमन्त्री गुप्ता जाने भनिएको युवा कार्यक्रमसँग आफ्नो कुनै संलग्नता, स्वीकृति वा सम्बन्ध नभएको जनाएको छ । संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएको कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने जनाइएको छ ।
