फागुनसम्मलाई टर्यो राहदानी अभाव
काठमाडौं । राहदानीको चरम अभाव पूर्ति गर्ने क्रममा करिब डेढ महिनाको अन्तरालमा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ भएर वितरण भएका छन् । अझै करिब एक लाख थान एक÷दुई दिनभित्रै छपाइ भएर आउने क्रममा रहेको छ । त्यसपछि अब दुई लाख ७३ हजार ८१४ थान राहदानी छपाइ मौज्दात रहने छ ।
बुधबारसम्म दुई लाख ६४ हजार ४८१ थान राहदानी सम्बन्धित जिल्ला तथा एकाइमा पठाइसकिएको छ । पुस १५ गतेसम्म आवेदन दिएकाको समेत गरेर शुक्रबारसम्ममा अर्को एक लाख थान बढी विद्युतीय राहदानी पठाउने तयारीमा विभाग छ । यससँगै हालसम्म आवेदन दिएका सबैको हातमा राहदानी पुग्ने छ । विभागले राहदानी सहज ढङ्गले वितरण थालेको दाबी गर्दै आएको छ । राहदानी वितरण सहज भएपछि विभाग र ७७ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयमा माग गर्नेको घुइँचो हटेको छ ।
सहज आपूर्तिसँगै आवेदकले पनि राहतको सास फेरेका छन् । तत्कालको मागको समाधान भए पनि फागुनदेखि नयाँ कम्पनीले नयाँ राहदानी दिन असम्भव हुँदा फेरि समस्या आउने सम्भावना भने उत्तिकै छ । विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत भएको सम्झौता अन्तर्गत हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ । गत मङ्सिर ५ गते पहिले सम्झौता भएकै फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता भएको थियो ।
आउँदो फागुनदेखि नयाँ कम्पनीले विद्युतीय राहदानी छपाइ प्रक्रिया सुरु गर्ने गरी सम्झौता भइसकेको छ तर मेसिन तथा प्रविधि व्यवस्थापनका लागि दुईदेखि तीन महिना लाग्ने भएकाले फागुनमै राहदानी छपाइ हुन नसक्दा फेरि राहदानीको अभाव हुने आशङ्का कायमै छ । त्यसो हुँदा नयाँ राहदानी छपाइ चैतको अन्तिम वा वैशाख महिनाबाट हुने सम्भावना रहेको छ । नयाँ कम्पनीले आफ्नै मेसिन र प्रविधिले पुरानोलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सबै नयाँ ढङ्गले जडान गर्दा समस्या नआएमा छिटो पनि हुन सक्छ । समस्या देखिएमा थप समय लाग्ने जनाइएको छ ।
अब दैनिक छपाइ तथा वितरण हुने भनेको पाँचदेखि छ हजार थान राहदानी हो । त्यस अनुसार आगामी माघ र फागुनसम्मका लागि करिब तीन लाख ६० हजार राहदानी आवश्यक पर्छ । त्यो हिसाबले अहिले देखिएको मौज्दात दुई लाख ७३ हजारले पुगनपुग हुन्छ । आउँदो चैत महिनामा पनि नयाँ राहदानी छपाइ हुन सकेन र माग अहिलेकै अनुसार बढ्दो रह्यो भने फेरि अर्को अन्तरिम बाटो खोज्नुपर्ने हुन सक्छ । अबका दिनमा हालको जस्तो चरम माग नरहने अनुमान विभागको छ ।
