इरानमा देशभर फैलियो प्रदर्शन
काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबिचको झडप हिंस्रक बन्दै गइरहेको छ । आकासिँदै गएको महँगी, अमेरिकी डलरको तुलनामा इरानी मुद्राको तीव्र अवमूल्यन र खस्किएको आर्थिक अवस्थाको विरोधमा बुधबार ११ औँ दिन पनि इरान अशान्त रह्यो । बुधबार देशका कयौँ स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच हिंस्रक झडप भए ।
देशको दक्षिण–पश्चिम सहर लर्डेगनमा हतियार सहितका प्रदर्शनकारीहरूले दुई जना प्रहरीको गोली हानेर हत्या गरेको इरानको अर्धसरकारी फार्स न्युज एजेन्सीले जनाएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबिच तनावपूर्ण स्थिति देखाउने भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।
केही भिडियोमा गोली चलेको आवाज पनि सुनिन्छ । अन्यत्रका भिडियोमा पनि सुरक्षाकर्मीहरूले प्रदर्शनकारीको भीडलाई तितर बितर पार्न गोली चलाएको अनि अश्रुग्याँस फ्याकेको देखिएको छ । विरोध प्रदर्शन देशका ३१ प्रान्तका १११ वटा सहरमा फैलिएको अमेरिकी गैरसरकारी संस्था एचआरएएनएले बताएको छ । एचआरएएनएको पछिल्लो प्रतिवेदनका अनुसार देशव्यापी प्रदर्शनका क्रममा इरानमा कम्तीमा पनि ३४ जना प्रदर्शनकारी र ४ सुरक्षाकर्मीको मृत्यु भएको छ । २ हजार २०० प्रदर्शनकारी पक्राउ परेका छन् ।
बीबीसी पर्सियाले मृत्युको पुष्टि गरेको छ । मर्नेमध्ये २१ जनाको पहिचान भएको छ । प्रदर्शनका क्रममा पाँच सुरक्षाकर्मीको निधन भएको इरानी अधिकारीहरूले बताएका छन् ।
