sevenstartv.com १० माघ २०८२, शनिवार

चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने

२४ पुष २०८२, बिहिवार स्टार संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । 

दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘कि नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरुको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री÷उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनबारे बहस, ‘लाइभ पेन्टिङ’लगायतका कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए । 

सोही अवसरमा रजत वर्षका अवसरमा शाखाले प्रकाशन गर्ने पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन र रजत स्मारकको अनावरण गरिने उनले बताएका छन्  । मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रजदेखि जिल्लामा क्रियाशील पत्रकारहरु एकठाउँमा जमघट हुने सचिव रिजालले बताए । 'वर्ष २०८२ लाई पत्रकार महासङ्घ, बागलुङले रजत वर्षका रुपमा मनाइरहेको छ', उनले भने, 'शाखा स्थापनाको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास रहने छ ।'

मेलाका अवसरमा छोटो दुरीका पर्यटकीयस्थलको घुमफिरसहित बागलुङमा प्रचलित साँस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति रहने जनाइएको छ । शाखाले गत असार २५ गते दुई दिवसीय कार्यक्रमसहित रजत जयन्ती मनाएको थियो । सो अवसरमा पत्रकारहरुका लागि ध्यान शिविर, अन्तर शाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणसहित विविध रचनात्मक कृयाकलाप गरी रजत वर्षको शुभारम्भ गरिएको थियो । शाखाले २०८२ लाई तालिम वर्षसमेत घोषणा गरी पत्रकारहरुको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्