sevenstartv.com १० माघ २०८२, शनिवार

राजनीतिक दलहरू जुटे उम्मेदवार छनोट प्रक्रियामा, आन्तरिक मतदान वा सर्वसम्मत निर्णयबाट प्रत्यक्ष उम्मेदवार सिफारिस

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् । समानुपातिक उम्मेदवार मनोनयनसँगै राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रियामा जुटेका हुन् । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक शक्ति सन्तुलन र नयाँ–पुराना दल भन्ने प्रचारबिच दलहरूले निर्वाचन जित्न सक्ने व्यक्तिहरूमाथि नजर लगाएका छन् । हरेक पार्टीले विभिन्न मापदण्ड बनाएर आन्तरिक मतदान वा सर्वसम्मत निर्णयबाट प्रत्यक्ष उम्मेदवार सिफारिस गरेका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने समय तोकिएकाले दलहरूले त्यसअगावै आन्तरिक प्रक्रिया पूरा गरेर आधिकारिक मनोनयन दर्ता गराउनुपर्नेछ । जेन–जी आन्दोलनका कारण युवापुस्ताको प्रतिनिधित्वबारे बहस चर्किए पनि प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा उमेर समूह औपचारिक मापदण्ड बनाइएको छैन । पुराना दल मात्र होइन, नयाँ भनिएको रास्वपाले पनि समानुपातिकजस्तै प्रत्यक्षतर्फको छनोटमा उमेर समूहलाई प्राथमिक आधार बनाएको छैन । सबै दलको ‘लोकप्रिय व्यक्तित्व र जित्ने सम्भावना’ नै छनोटको मापदण्ड बनेको छ । 

कांग्रेसले समानुपातिक बन्दसूचीसँगै जिल्लाबाट प्रत्यक्षतर्फका उम्मेदवारको सूची पनि केन्द्रमा मगाइसकेको छ । कांग्रेस २३ पुसमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिएपछि प्रत्यक्षतर्फका उम्मेदवार पनि अन्तिम टुंगो लगाउने तयारीमा छ । ‘१६५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम केन्द्रमा आइसकेको छ । एमालेमा बिहीबारदेखि प्रत्यक्ष उम्मेदवार छनोट सुरु भएको छ । पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध, अनुशासित, जनपक्षीय, योग्यता, क्षमता र योगदानजस्ता मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने एमालेको तयारी छ ।

२० पुसमा जिल्लाले प्रदेश र २४ पुसमा प्रदेशले केन्द्रमा नाम पठाइसक्न एमालेले सर्कुलर गरेको छ । नेकपाले पनि अधिकांश जिल्लाबाट प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरिसकेको जनाएको छ । एक निर्वाचन क्षेत्रबाट चार–पाँचजनासम्मको नाम प्रदेशमा आइसकेको छ । नेकपाले एक महिलासहित सम्भव भएसम्म जेन–जी उमेर समूहका योग्य उम्मेदवारलाई पनि समेट्न सर्कुलर गरेको छ । रास्वपाले २१ मंसिरमै प्रत्यक्ष उम्मेदवारका लागि आवेदन आह्वान गरे पनि त्यसअनुसर करिब ७० प्रतिशत निर्वाचन क्षेत्रबाट मात्र आकांक्षी देखिएका छन् ।

२२ पुससम्म आवेदन लिने आन्तरिक समयसीमा तोकिएको छ । संगठन कमजोर भएका क्षेत्रमा पार्टी केन्द्रले पहल गरेर उम्मेदवार खोज्ने तयारी पनि रास्वपाको छ । राप्रपाले अधिकांश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम समानुपातिकसँगै केन्द्रमा मगाइसकेको छ । बाँकी जिल्लाबाट नाम आएपछि संसदीय समितिको बैठक बसेर उम्मेदवार टुंग्याइनेछ ।उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले संयुक्त समानुपातिक सूची बुझाए पनि प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियामा बल्ल छलफल थालेका छन् ।

सबै मधेशकेन्द्रित दलहरू एक भएर चुनावमा जाने विषयमा छलफल चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको नाम एकल सिफारिस भएको छ । देउवाको डडेल्धुरा, ओलीको झापा ५, प्रचण्डको कालीकोट र नेपालको रौतहट २ बाट एकल सिफारिस छ । रास्वपा सभापति रवि लामिछानेको भने चुनाव लड्ने–नलड्ने टुंगो लागेको छैन । अन्य दलका प्रमुख नेताहरूको नाम भने सिफारिस हुन बाँकी छ ।

प्रत्यक्षतर्फका उम्मेदवारका लागि निर्वाचन आयोगले ६ माघको बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । ९ माघमा आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तथा त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ । दलहरूले लोकप्रियता र जित्ने सम्भावनाको कुरा गरे पनि व्यवहारमा पार्टीभित्र जसको पकड छ, उसैले टिकट पाउने अवस्था बढी देखिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्