म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
काठमाडौं । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ ।
सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गरेका छन् । त्यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।
फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोहपछि हजारौँ प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो । यसले म्यानमाको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो । राष्ट्रिय सुरक्षा परिषद्का अनुसार, वार्षिक कैदी रिहाइ कार्यक्रम ‘मानवीय र दयालु कारण’ का आधारमा आयोजना गरिएको हो ।यसैबिच, म्यानमाको सेनाले महिना लामो चरणबद्ध निर्वाचन सुरु गरेको छ ।
सेनाले यसलाई लोकतन्त्र फर्काउने प्रयासको रूपमा प्रचार गरे पनि मानवअधिकारकर्मी र पश्चिमी कूटनीतिज्ञहरूले यसलाई सैनिक शासनको पुनः ब्रान्डिङ भएको भन्दै आलोचना गरेका छन् ।
सैन्य समर्थक युनियन सॉलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले पहिलो चरणमा निर्णायक अग्रता लिएको छ । आधिकारिक नतिजा अनुसार हालसम्म तल्लो सदनका ९० प्रतिशत सीट यूएसडीपीले जितेको छ ।
