काठमाडाैंकाे तापक्रम ४ डिग्रीबाट तल झर्यो
काठमाडाैं । काठमाडाैंसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाडाैंमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडाैंको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो ।
आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान छ । तराईका धेरैजसो ठाउँमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।
त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकाको मौसम भने सामान्यतया सफा नै रहेको छ । काठमाण्डौमा बिहानपख ५ किलोमिटरसम्मको भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ । मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
