तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ झिक्दै
काठमाडाैं ।नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता (बचत रकम) व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट तान्न लागेको हो ।
करिब १० वर्षको अन्तरालपछि गत सातादेखि ऋणपत्र जारी गर्न सुरु गरेको राष्ट्र बैंकले यसै साताभित्र तेस्रो पटक यो उपकरण प्रयोग गरेको हो। यसअघि गत सोमबार र बुधवार पनि बैंकले २५÷२५ अर्ब रुपैयाँका दरले बजारबाट रकम झिकेको थियो ।
यो ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। खरिद गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन् । बजारमा लगानीयोग्य रकम थुप्रिएपछि ब्याजदर सन्तुलनमा राख्न र तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय आक्रामक रूपमा बजारबाट पैसा झिक्दै आएको छ।
