ताइवान आसपास चीनले गरेको सैन्य अभ्यासप्रति अमेरिकाको आपत्ति
काठमाडौं । चीनले ताइवान आसपासको क्षेत्रमा ३१ डिसेम्बरसम्म सैन्य अभ्यास गर्यो । चीनको उक्त कार्यलाई लिएर ताइवानले कडा विरोध जनाएको थियो । अब अमेरिकाले पनि चीनले ताइवान नजिकै गरेको सैन्य अभ्यासप्रति आपत्ति जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको छ । हामी चीनलाई संयम अपनाउन, ताइवान विरुद्ध सैन्य दबाब बन्द गर्न र बरु अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’
अमेरिकाले ताइवानको शान्ति र स्थिरतालाई समर्थन गर्ने, बल प्रयोग गरेर वा जबर्जस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्ने बताएको छ । चीनको उक्त सैन्य अभ्यासलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, तर ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्छ ।
