नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति असफल हुँदै आएको महेश बस्नेतकाे टिप्पणी
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति असफल हुँदै आएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले अनुहार फेरिँदैमा देश नफेरिने तथ्य इतिहासले पटक–पटक प्रमाणित गरिसकेको बताएका हुन् । विगतमा नयाँ अनुहारका रूपमा प्रस्तुत गरिएका नेताहरू क्रमशः जनविश्वास गुमाउँदै गएको उदाहरण दिँदै उनले यस्तो बर्ताका छन् ।
उनले लेखेका छन्, ‘ नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ, गगन आए, जवर्जस्त बासी बनाइए, काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए, लोकप्रियताको आडमा बालेन आए-तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ, अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ। ’
बस्नेतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । तर विवादित छविका नेता रवि लामिछाने नेतृत्वको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने उनको धारणा छ ।
बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसको भोलिपल्ट भदौ २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको बताउँदै यी घटनालाई नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गरेकान छन् । बस्नेतले त्यसमा बालेन र रवि लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूबाट समर्थन देखिनु गम्भीर विषय भएको उल्लेख गरे ।
अबको निर्वाचनको मुख्य प्रश्न अराजकता रोज्ने कि लोकतान्त्रिक संरचना जोगाउने भन्नेमा केन्द्रित हुनुपर्ने उनको धारणा छ । उनले समस्या पुराना दलको अस्तित्वमा नभई तिनभित्र देखिएका विकृति भएको उल्लेख गर्दै नयाँ दल खोल्नु समाधान नभएको तर्क गरेका छन् ।
