युद्धग्रस्त म्यानमारमा भइरहेको चुनावको व्यापक विरोध
काठमाडौं । म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ ।
तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू–भागमा मतदान हुन नसक्ने अवस्थाले यो चुनावलाई व्यापक रूपमा ‘नक्कली’ भन्दै आलोचना गरिरहेका छन् । पश्चिमी देशहरू र युरोपेली संसदले चुनावलाई अस्वीकार गरेका छन् भने आसियान क्षेत्रले राजनीतिक संवाद बिना चुनाव नगर्न आग्रह भनेको छ ।
सैनिक सरकारले भने चुनाव म्यानमारकै लागि भएको दाबी गर्दै आलोचना अस्वीकार गरेको छ । नागरिकहरूबीच भने चुनावप्रति असन्तुष्टि र बहिष्कारको भावना बलियो देखिएको छ । चुनाव तीन चरणमा एक महिनाभित्र सम्पन्न गरिने बीबीसीले जनाएको छ ।
जसमा ३ सय ३० मध्ये २ सय ७४ क्षेत्रमा चुनाव गरिने भनिए पनि झन्डै देशको आधा भू–भागमा चुनाव हुन नसक्ने अनुमान गरिएको छ । चुनावको नतिजा आउँदो एक महिनाभित्र आइसक्ने खबरमा उल्लेख छ । नयाँ कानूनअन्तर्गत चुनावको विरोध वा अवरोध गरेको आरोपमा दुई सयभन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । चर्चित कलाकार र चलचित्रकर्मीहरू समेत ७ वर्षको जेल सजायमा परेका छन् ।
