एनभिए भलिबलमा पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लब विजयी
काठमाडाैं । नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लबले विजयी शुरूआत गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको खेलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३–० को सेटमा हरायो । हेल्प नेपाल २५–२१, २५–२० र २५–२० ले विजयी भएको हो ।
उद्घाटनको दिन शुक्रबार भएका अरु खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी हुँदा महिलातर्फ पनि पुलिससँगै आर्मीले विजयी शुरूआत गरे । पुरुषतर्फ पुलिसले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हरायो ।
त्यस्तै महिला तर्फ पुलिसले सुदूरपश्चिम प्रदेशलाई र त्रिभुवन आर्मी क्लबले एभरेष्ट क्लबलाई समान ३–० को सेटमा पराजित गरेको हो । एनभीए भलिबल च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।
