चीनद्वारा इन्टरनेट उपग्रह सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट दक्षिणी टापु प्रान्त हाइनानबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहलाई उसले अन्तरिक्षमा पठाएको हो । ‘लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो । यसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु रहेको छ । यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ ।
उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनेको छ । यो प्रक्षेपणबाट चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
