प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति पुस १३ र १४ गते तोकियाे
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति पुस १३ र १४ गतेका लागि तोकेको छ ।
सोहीअनुसार आयोगमा दर्ता भएका दलहरुले सूची छनोटलाई तीब्रता दिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा बिहीबारदेखि उम्मेदवारका ४ सय आकांक्षीले आ–आफ्ना प्रस्तुति दिन थालेका छन् । त्यसपछि प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमीलगायतबाट अंकका आधार अन्तिम सूची तय गरिने रास्वपाले जनाएको छ ।
नेपाली कांग्रेसले सबै जिल्लाबाट सूची आइसकेकाले अब केन्द्रीय कार्यसम्पादन समितिले टुंगो लगाउने जनाएको छ । यता, एमालेले समानुपातिकतर्फको बन्दसूची बुझाउने प्राविधिक तयारीसमेत पुरा गरिसकेको र विगतमा अवसर पाए–नपाएको हेरेर उम्मेदवार बनाउने एमालेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पनि संविधान तथा कानुनले तोकेबमोजिम महिला, दलित, जनजातिलगायतका क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनेको थियो ।
त्यस्तै शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई पनि नेकपाले प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका साथै पार्टीका पुराना नेतालाई समेटेर सूची तयार पार्ने काम गरिरहेको जनाएको छ भने जनता समाजबादी पाटी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टीलगायत नयाँ–पूराना सबै दलले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।
