मोटरसाइकल दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु, एक घाइते
काठमाडौं । महात्तरीको बर्दिवासमा भएको मोटरसाइकल दुर्घटनामा बालकसहित दुईजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
ढुङग्रे गढन्ताबाट बर्दिवासतर्फ आउँदै गरेको प्र २-०२-००४ प ७६७६ नम्बरको मोटरसाइकल बुधबार साँझ जङ्गली क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा बर्दिवास नगरपालिका-१० भालुझोराका ३३ वर्षीय मोटरसाइकल चालक सुरेश रसाइलीकी श्रीमती ३५ वर्षीया रश्मि विक र भतिजा ५ वर्षीय रोमन रसाइलीको मृत्यु भएको हो ।
दुर्घटनामा रश्मि विकको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते भएका बालक रोमन रसाइलीको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा दाहिने खुट्टा भाँचिएका मोटरसाइकल चालक सुरेश रसाइलीको उपचार शुभ स्वस्तिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ ।
