मस्कोविरुद्ध थप दबाब दिन अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनको अपिल
काठमाडौं । रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणहरूपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायसँग थप दबाब दिन अपिल गरेका छन् ।
उनले रुसलाई कूटनीतिक प्रयासहरूलाई क्षति पु¥याउने अनुमति दिन नसकिने र युद्ध समाप्त गर्ने जिम्मेवारी पूर्णरूपमा मस्कोमाथि नै रहेको बताएका छन् । सोमबार राति रुसले युक्रेनविरुद्ध ठूलो मात्रामा हवाई आक्रमण गरेको थियो । यस क्रममा ६५० भन्दा बढी ड्रोन र ३० भन्दा बढी मिसाइलहरू युक्रेनका १३ क्षेत्रहरूमा प्रहार गरिएका थिए ।
जेलेन्स्कीले आक्रमणका क्रममा युक्रेनका १३ क्षेत्रहरूमा घरहरू र विद्युत् ग्रीडलाई निशाना बनाइएको र त्यसका कारण विद्युत् आपूर्तिमा व्यापक कटौती भएको बताएका छन् । यसअघि उनले शान्ति सम्झौतामा हालै देखिएको प्रगतिलाई ठोस कदमको रूपमा व्याख्या गरेका थिए ।
जेलेन्स्कीले एक पोस्टमा बमबारीबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि आक्रमण जारी राख्ने उद्देश्य स्पष्ट रूपमा देखिने बताएका छन् । यूक्रेनी र युरोपेली अधिकारीहरूले पुटिन अमेरिका नेतृत्वको शान्ति प्रयासहरूमा सहयोग नगरेको गुनासो गरेका छन् ।
यसअघि, यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदाले कीभका धेरै मागहरू पूरा गर्ने बताएका थिए । यद्यपि, उनले युद्ध समाप्त गर्न हुने वार्तामा दुवै पक्षका सबै इच्छाहरू पूरा हुने सम्भावना कम रहेको पनि बताएका थिए ।
