आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को ट्रफी टुर सुरु, नेपालसहित एसियाका सात देशमा हुने
काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ ।
भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ। जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी–२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ ।
यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्। ट्रफीलाई आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिनेछ। टी–२० विश्वकपको दशौं संस्करणमा २० टिमले भाग लिँदैछन् ।
२९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ ।
