काश्मीरमा गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता
काठमाडौं । भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ ।
भारतीय अधिकारीहरूले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय हिरासतमा रहेका छन् । गत अप्रिलमा भएको उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।
नयाँदिल्लीले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । ती तीनै जना आक्रमण भएको केही हप्तापछि काश्मीरका जङ्गल क्षेत्रमा भारतीय सुरक्षा बलले मुठभेडमा मारिएका थिए । यसै क्रममा, आक्रमणकारीहरूलाई शरण दिएको आरोपमा जुन महिनामा पक्राउ परेका दुई जना स्थानीय बासिन्दालाई पनि अभियोग लगाइएको एनआइएले जानकारी दिएको छ । उनीहरूमाथि आक्रमणकारीहरूलाई सहयोग पु¥याएको आरोप लगाइएको छ ।
अप्रिल २२ मा भएको सामूहिक हत्याकाण्डपछि आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच कूटनीतिक तनाव अत्यन्त चर्किएको थियो । त्यसपछि दुवै पक्षबाट मिसाइल, ड्रोन र तोपखानाको प्रयोगसहित चार दिनसम्म चलेको तीव्र सैन्य झडप भएको थियो, जसमा दुवै तर्फ गरी ७० जनाभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

.gif)