कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरानैटीमा छाड्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । महरालाई अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश दिएको हो ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई पक्राउ गरेको थियो ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो ।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए ।
भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीको दाबी छ। यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध त्यसअघि नै मुद्दा दर्ता भइसकेको छ ।
चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।
