sevenstartv.com ६ मंसिर २०८२, शनिवार

निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने

१ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले प्रतिनिधिसभाको निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आइतबार बसेको सुरक्षा समितिको बैठकले फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचनको सुरक्षाका लागि त्यतिको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्ने गरेको थियो । निश्चित समयका लागि नियुक्त गरिने कारण म्यादी प्रहरी भनिए पनि यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय सुरक्षा समितिको बैठकले गरेको छ ।

एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि समेटेर समिति बनाइएको थियो । उक्त समितिले यसअघिका निर्वाचन क्षेत्रलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएको छ । तर सबै जिल्ला सुरक्षा समितिलाई आ–आफ्नो जिल्लाको सुरक्षा योजना बनाउन पनि भनिएको छ । 

केन्द्रीय सुरक्षा समितिको बैठकमा मंसिर ७ गतेदेखि दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलनको विषयमा पनि गम्भीर छलफल भएको छ । आन्दोलनका क्रममा हुनसक्ने गतिविधिलाई सूक्ष्म ढंगबाट निगरानी गर्ने र तत्काल कानुनी कारबाही गर्ने सरकारको तयारी छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्