पाकिस्तान-अफगानिस्तानबिच युद्ध विरामको सहमति
काठमाडौं । पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्ध विराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्ध विराम तोडेको थियो ।
गत एक सातादेखि दुई देशबिच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि यो दुवै देशबिचको सबैभन्दा भीषण द्वन्द्व मानिएको छ । दुबै मुलुकका रक्षा प्रतिनिधिहरूले दोहामा सम्झौतापछि हात मिलाएको तस्बिर पनि सार्वजनिक गरिएको छ । मानिसहरू अझै डराइरहेका छन् ।
यस पछिल्लो झडपको मूल कारण सुरक्षा चुनौतीहरू नै मानिएको छ । तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा विशेष गरी अफगान सीमा क्षेत्रमा आतङ्कवादी आक्रमणहरू तीव्र रूपमा बढेका छन् । पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट तेहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० जस्ता सशस्त्र समूहहरूले आक्रमण गरिरहेको आरोप लगाउँछन्, जुन आरोप अफगान तालिबानले अस्वीकार गर्दै आएको छ ।
सीमा झडप अक्टोबर ११ मा चर्किएको थियो, जब तालिबानका विदेश मन्त्री आमिर खान मुत्ताकी भारतको भ्रमणमा रहेका बेला काबुलमा विस्फोट भएको थियो । त्यसको केही दिनपछि तालिबान लडाकुहरूले पाकिस्तानको दक्षिणी सीमामा आक्रमण गरे, जसपछि पाकिस्तानले कठोर जवाफ दिने चेतावनी दिएको थियो ।तालिबानका एक वरिष्ठ अधिकारीका अनुसार, पाकिस्तानले शुक्रबार राति अफगानिस्तानको पक्तिका प्रान्तमा तीन स्थानमा हवाई आक्रमण गर्यो । एक स्थानीय अस्पतालका अनुसार, ती आक्रमणमा दुई बालबालिकासहित १० सर्वसाधारणको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकमध्ये तीन जना क्रिकेट खेलाडी थिए ।
युद्ध विरामको सहमति शान्ति स्थापनाको दिशामा सकारात्मक सङ्केत भए पनि स्थायी समाधानका लागि गहिरो संवाद, विश्वासको पुनर्निर्माण, र दुवै देशको स्पष्ट सुरक्षा रणनीति आवश्यक देखिन्छ ।
