बेलायतमा दक्षिणपन्थी प्रदर्शन
काठमाडौं । बेलायतका प्रधानमन्त्री कर स्टार्मरले देशको झण्डालाई हिंसा र धम्कीको प्रतीकको रूपमा प्रयोग गर्ने अति दक्षिणपन्थी प्रदर्शनकारीहरूलाई बेलायतले कहिल्यै ‘आत्मसमर्पण’ नगर्ने बताएका छन् । हालै लन्डनमा भएको दशककै सबैभन्दा ठूलो अति दक्षिणपन्थी प्रदर्शनका क्रममा भएको हिंसाप्रति उनले यस्तो टिप्पणी गरेका हुन् ।
शनिबार, एक लाख १० हजारभन्दा बढी मानिसहरूले केन्द्रीय लन्डनमा आप्रवासनको विरोधमा प्रदर्शन गरेका थिए, जसको नेतृत्व अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले गरेका थिए । यो ‘युनाइट द युनाइटेड किङडम’ नामक र्यालीमा सहभागी केही प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको थियो । मेट्रोपोलिटन प्रहरीका अनुसार, झडपमा २६ प्रहरी अधिकारी घाइते भएका छन् भने २४ जना पक्राउ परेका छन् ।
शनिबारको प्रदर्शनमा राष्ट्रवादी प्रतीक, झडप र उत्तेजक भाषणहरू थिए । फुटेजहरूमा प्रहरीमाथि बोतल प्रहार गरिएको र प्रदर्शनकारीहरूलाई हटाउन लाठी चार्ज गरिएको देख्न सकिन्छ । प्रदर्शनमा फ्रान्सेली राजनीतिज्ञ एरिक जेम्मोर, बेल्जियमका फिलिप डेविन्टर, डेनिस पीपल्स पार्टीका मोर्टेन मेसरस्मिड, जर्मनका पेट्र बाइस्ट्रोन र पोल्यान्डका डोमिनिक टार्चिन्स्की लगायतका विदेशी नेताहरूले पनि सम्बोधन गरेका थिए ।
टेस्लाका सीईओ तथा एक्सका अध्यक्ष एलोन मस्कले पनि भिडियो लिंकमार्फत प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै बेलायतलाई ‘सरकारमा तत्काल परिवर्तन’ चाहिएको बताएका थिए । हालका महिनाहरूमा शरणार्थीहरू बसिरहेका होटेलहरूमा भएका आगजनी लगायतका अति दक्षिणपन्थी हिंसाका घटनाहरू बढेका छन् ।
